काठमाडौं, हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले सिमरास्थित कारखाना परिसरमा सामुदायिक तथा दिगोपनसम्बन्धी कार्यक्रमसहित ‘हुलास डे २०२६’ मनाएको छ ।
दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको कम्पनीले आयोजना गरेको कार्यक्रममा वृक्षारोपण अभियान, कर्मचारीका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी)सम्बन्धी गतिविधिबारे प्रस्तुति गरिएको थियो । कार्यक्रममा कम्पनीले सञ्चालनमा ल्याएको १ हजार ३१८ केडब्लूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली, भट्टी तथा जेनेरेटरको विद्युतीकरण, आफ्नै इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट र फोहोर व्यवस्थापन प्रणालीबारे जानकारी दिइएको थियो ।
त्यसैगरी, कारखाना परिसरमा विस्तार भइरहेको हरित क्षेत्र, आईएसओ १४००१ प्रमाणीकरण तथा युरोपेली संघको कार्बन बोर्डर एड्जस्टमेन्ट मेकानिजम अनुरूपको तयारीलाई पनि कम्पनीका दिगोपनसम्बन्धी पहलका रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमका क्रममा कम्पनीले उत्कृष्ट योगदान पुर्याएका कर्मचारीलाई सम्मान समेत गरेको थियो । सम्मानित कर्मचारीहरूको योगदान र समर्पणको कदर गर्दै कम्पनीले संस्थागत उत्कृष्टता र दिगो विकासका क्षेत्रमा आफ्ना गतिविधिलाई निरन्तरता दिने जनाएको छ । ‘हुलास डे’ कम्पनीका सामुदायिक, वातावरणीय तथा कर्मचारीकेन्द्रित गतिविधिलाई एकै ठाउँमा प्रस्तुत गर्ने वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिएको कम्पनीले जनाएको छ ।