काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कर्मचारीहरूको सामूहिक जीवन तथा व्यक्तिगत दुर्घटना बीमा मेटलाईफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी) ले गर्ने भएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारीले सेवा अवधिभर विभिन्न जोखिमविरुद्ध बृहत् बीमा सुरक्षा पाउने भएका हुन् ।
मेटलाइफले नेपाल बीमा प्राधिकरणलाई उपलब्ध गराएको विवरणअनुसार योजनामा सामूहिक जीवन बीमा र सामूहिक व्यक्तिगत दुर्घटना बीमा समावेश छन् । कर्मचारीको सेवा अवधिमा जुनसुकै कारणबाट मृत्यु भएमा बीमांक रकम भुक्तानी हुनेछ भने दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणका लागि थप सुविधासमेत उपलब्ध गराइएको छ । योजनाअन्तर्गत दुर्घटनाजन्य मृत्यु, अङ्गभङ्ग तथा दृष्टि, श्रवण वा बोल्ने शक्ति गुमेको अवस्था, पूर्ण तथा स्थायी अशक्तता, दुर्घटनापछि अस्पताल भर्ना हुँदा हुने उपचार खर्चको शोधभर्ना र काममा फर्कन नसकेको अवस्थामा साप्ताहिक अशक्तता लाभजस्ता सुविधा छन् ।
मेटलाइफका अनुसार उक्त बीमा योजना ५ सेप्टेम्बर २०२५ देखि एक वर्षका लागि लागू भएको हो । बीमित कर्मचारीको मृत्यु भएमा बीमा रकम निजले इच्छाएको व्यक्ति वा कानुनी हकवालाले प्राप्त गर्ने व्यवस्था गरिएको छ । सरकारी स्वामित्वको ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको सामाजिक सुरक्षा र हितलाई प्राथमिकता दिँदै आएको अवस्थामा मेटलाइफसँगको यो सम्झौताले कर्मचारीको आर्थिक सुरक्षा र मनोबल बढाउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ । मेटलाइफले पनि नेपालमा लामो समयदेखि संस्थागत तथा व्यक्तिगत बीमा सेवा प्रदान गर्दै आएको छ ।