काडमाडौं, राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार भट्टराईलाई सोमबार काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमसमशेर जबराका अनुसार काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनका लागि यात्रा अनुमति पत्र लिएर पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि सोधपुछ गरिएको थियो । त्यसक्रममा जर्मन राजदूतावासले विसं २०६८ जेठ २० गते अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पाँच थान सक्कल यात्रा अनुमति पत्र प्रहरीलाई उपलब्ध गराएको थियो ।
उक्त घटनाको अनुसन्धान राहदानी ऐनअन्तर्गत अघि बढाउँदै जाँदा यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको थियो । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् । प्रहरी अनुसन्धान सम्पन्न भएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विसं २०८३ साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीसहितका प्रतिवादीविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रतिवादीका रूपमा नाम उल्लेख भएका भट्टराईलाई सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरी वरिष्ठ उपरीक्षक जबराले जानकारी दिए ।