दोलखा, वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । जिरी नगरपालिका–६ स्थित लौती झरना र गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित छहरा झरना पछिल्ला दिनहरूमा पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
हरियाली जंगल, चट्टानी भीरबाट झर्ने स्वच्छ पानी, शीतल वातावरण र प्राकृतिक शान्त वातावरणले यी दुवै स्थानमा पुग्ने पर्यटकलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । लौती झरना हाल जिरी जाने पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ । जिरी हाटडाँडाबाट करिब एक घण्टाको रमणीय जंगल यात्रापछि पुगिने यस झरनासँगै कुडारे गुफा र झाप्रो झरना पनि पर्यटकको आकर्षण बनेका छन् । घना जंगलको बीचमा कलकल बग्ने पानी, चराचुरुङ्गीको चिरबिराहट र शीतल हावाले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिमा हराउन बाध्य बनाउँछ । नजिकै रहेको रेनवो ट्राउट माछा फार्मले समेत पर्यटकलाई थप आकर्षित गरिरहेको छ ।
लौती झरनासँगै वर्षौंदेखि ओझेलमा रहेको गौरीशंकर गाउँपालिका–१ को जुँगु छहरा पनि अहिले सामाजिक सञ्जाल र पर्यटकको भ्रमणसँगै चर्चामा आउन थालेको छ । स्थानीय होटल व्यवसायी मञ्जु पौडेलका अनुसार साउनको दोस्रो सातासम्म मात्रै करिब एक सय पचासभन्दा बढी आन्तरिक पर्यटक छहरा अवलोकनका लागि जुँगु पुगेका छन् । वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारबाट सिद्धाथान–यवो हुँदै करिब एक घण्टामा पुगिने झगाडे गाउँस्थित यो छहरा हरियाली जंगलको बीचमा रहेको प्राकृतिक गन्तव्य हो । झन्डै चारसय मिटर उचाइबाट अविरल झर्ने पानी, वरिपरि फैलिएको हरियो वन, चिसो हावा र प्राकृतिक शान्तिले यहाँ पुग्ने प्रत्येक पर्यटकलाई मोहित बनाउने गरेको छ । झरनाको फेदीमा बसेर प्रकृतिको मनोरम दृश्य अवलोकन गर्नु यहाँको मुख्य आकर्षण बनेको छ ।
जुँगु छहरा पुग्न चरिकोट–लामोसाँघु–जिरी सडकअन्तर्गत मैनापोखरी–सिद्धाथान–यवो हुँदै करिब ३० देखि ३५ मिनेटको सवारी यात्रापछि झगाडे गाउँ पुगिन्छ । त्यहाँबाट करिब एक किलोमिटर अफरोड पार गरी १०–१५ मिनेट पैदल हिँडेर छहरासम्म पुग्न सकिन्छ । पर्यटकको सुविधालाई ध्यानमा राख्दै हालै पैदलमार्ग निर्माण गरिएकाले यात्रा थप सहज बनेको छ । स्थानियका अनुसार लौती झरना, कुडारे गुफा, झाप्रो झरना र जुँगु छहरालाई एउटै पर्यटन सर्किटका रूपमा विकास गरी प्रभावकारी प्रचारप्रसार गर्न सकेमा वैतेश्वर, गौरीशंकर तथा जिरी क्षेत्र दोलखाको प्रमुख प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ ।