काठमाडौं, पछिल्लो समयमा देशको आन्तरिक अर्थतन्त्र कमजोर बन्दै गएको प्रस्ट संकेत देखिएको छ । काठमाडौं जिल्ला अदालतमा पछिल्ला महिनामा चलेका बैंकिङ कसुर, चेक अनादर र लेनदेनका मुद्दाको चाप हेर्दा बैंकबाट ऋण लिएर व्यवसाय गर्ने व्यवसायीहरूले साँवाको त कुरै छाडौँ ब्याजसमेत तिर्न नसकेर हैरान भएको देखिएको छ ।
त्यस्तै, खातामा पर्याप्त पैसा नभई तिर्नुपर्ने व्यक्ति तथा व्यावसायिक फर्महरूलाई चेक दिएर झुक्याउनेको संख्या पनि त्यत्तिकै बढेर गएको छ । यसले व्यक्तिगत कारोबारको साथै बैंकिङ कारोबार गर्नेहरू धेरैका आर्थिक अवस्था कमजोर र जोखिमपूर्ण बन्दै गएको देखाएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नेहरूको व्यवसाय राम्रोसँग नचलेको कारण समयमा ब्याज तथा साँवा रकम भुक्तानी गर्न नसकेपछि बैंकिङ कसुरको मुद्दा चल्न पुगेका छन् । बैंकले धितो बन्धक राखेका घर, जग्गा लिलामको सूचना धमाधम निकाल्न थालेको छ भने ऋणीहरूले पनि आफ्नो सम्पत्तिमा बैंकले आँखा लगायो भनेर अदालत गुहारेका छन् । यदि सबैको व्यवसाय राम्रोसँग चलेको थियो भने यस्ता लेनदेनका मुद्दा अदालतसम्म पुग्ने नै थिएन ।
बैंकिङ कसुर बैंकिङ कारोबारसम्बन्धी मुद्दा हो भने चेक अनादर मुद्दा चेक कारोबारसँग सम्बन्धित हो । यी दुवै फौजदारी कसुरका मुद्दा हुन् । दुवैमा सजाय हुन्छ । साना व्यवसायीदेखि ठूला र नाम चलेका व्यवसायीहरूसम्म अहिले बैंकलाई सानोभन्दा सानो अंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको देखिएको छ । ठूला र नाम चलेको भनिएका व्यवसायीदेखि साना व्यवसायी पनि बैंकलाई तोकिएकै मितिमा, तोकिएबमोजिमको साँवा तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका कारण समग्र व्यवसायमा सुस्तता छाएको प्रस्ट हुन्छ । ऋण लिँदाको र अहिलेको अवस्थामा फरक देखिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
एकजना कानुन व्यवसायीले आर्थिक दैनिकसित भने, ‘काठमाडौं जिल्ला अदालतमा मात्र बैंकिङ कसुर र चेक अनादरको मुद्दा हेर्ने हो भने देशको अर्थतन्त्र धेरै नै कमजोर बनिसकेको संकेत देखिन्छ ।’ ती कानुन व्यवसायीका अनुसार यदि व्यवसाय राम्रोसँग चलेको थियो भने बैंकसँगको तथा व्यक्तिसँगको व्यक्तिको कारोबारको अधिकांश विवाद अदालतसम्म आइपुग्ने नै थिएन । चेक अनादरको भन्दा पनि बैंकिङ कसुरको मुद्दाको चाप अदालतमा बढ्नाले व्यावसायिक कर्जा लिनेहरूको आर्थिक अवस्था अति नै कमजोर रहेको संकेत गर्छ । एउटा व्यवसायको लिंक अर्को व्यवसायमा छ । जब एउटा व्यवसाय कमजोर हुन्छ क्रमशः अन्य व्यवसाय पनि कमजोर बन्छ । अहिले घरजग्गा, सेयर बजार, आन्तरिक तथा बाह्य व्यापार सबैैमा मन्दी र मूल्यवृद्धि छ । बैंकमा रकम थुप्रिएको छ भने कर्जा लिनेको संख्या नै छैन । यसले समग्र व्यावसायिक गतिविधि ठप्प छ भन्ने संकेत गर्छ ।
‘सेयरबजारको मूल्य बढ्यो भने घरजग्गा र गाडीको खरिदबिक्री बढेको विगतको अध्ययनले देखाएको छ’, एक व्यवसायीले आर्थिक दैनिकसित भने, ‘झण्डै पाँच वर्षदेखि सेयरबजार सुस्त छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले अन्य व्यवसाय पनि सुस्त हुँदा ऋण लिएर गाडी खरिद गर्ने, घर जग्गाको कारोबार, सेयरको कारोबार, आयात÷निर्यातको कारोबार गर्नेहरू अहिले चल्न सक्ने अवस्थामा छैनन् । अर्थतन्त्र चलायनमान हुन नसक्दा तर पनि बैंकले आफ्नो सावा तथा व्याज उठाउने कोसिस गर्छ । त्यही भएर अदालतमा बैंकिङ कसुर र चेक अनादरका मुद्दा बढेका हुन् ।’
काठमाडौं जिल्ला अदालतको वेबसाइटमा मंगलबार सार्वजनिक भएको दैनिक पेशी विवरणमा छ सय ३० वटा मुद्दा थिए । त्यसमा बैंकिङ कसुर, चेक अनादर र लेनदेन विवादकोको मुद्दा नै झण्डै ३३ प्रतिशत बढी थियो । उक्त दिन बैंकिङ कसुरका मात्र ८५ वटा मुद्दा थिए भने चेक अनादरका ७० बढी मुद्दा देखिन्थ्यो । त्यस्तै, लेनदेन, कर्जा रकम दिलाई भराई पाऊँजस्ता अन्य लेनदेनका मुद्दाको संख्या पनि कम थिएन । काठमाडौं जिल्ला अदालतले मंगलबार पेसी तोकिएका मुद्दामध्ये एक सय १४ वटा त फैसला नै गरेको बेवसाइटमै उल्लेख गरेको थियो । तीन सय ६२ वटामा आदेश र ४२ वटा मुद्दा स्थगित गरिएका थिए ।
सोमबार पनि काठमाडौं जिल्ला अदालतमा मंगलबारकै जस्तो अवस्था थियो । अझ खासगरी असार महिनामा त बैंकिङ कसुर र चेक अनादर तथा लेनदेनसम्बन्धी मुद्दाको चाप बढी नै थियो । वर्षेनी बैंकिङ कसुरका मुद्दा बढ्दा बैंक तथा वित्तीय संस्थाहरूले घर जग्गा लिलाम सकारेर थुपार्नु परेको छ ।
खासगरी गत वर्षको भदौ २३ र २४ गतेको आगजनी र तोडफोडपछि देशमा व्यावसायिक वातावरण बिग्रन जाँदा लगानीकर्ताहरू डराएका छन् । लगानीकर्तामा डर र त्रास नहटेको कारण झण्डै दुई तिहाई संख्याको सरकार भए पनि लगानी बढ्न सकेको छैन । आन्तरिक तथा बाह्य लगानी हुन नसक्दा भएका व्यवसायले पनि आम्दानी गर्न नसकेका हुन् । देशमा अहिलेसम्म पनि सरकारले व्यावसायिक वातावरण बनाउन सकेको छैन । त्यही कारण सबैतिर मन्दीको अवस्था छ ।