विराटनगर । विराटनगरका चर्चित उद्योगी तथा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य प्रकाश मुन्दडाको निवासमा प्रहरीले सोमबार बिहान करिब पाँच घण्टा लामो नतलासी गरेको छ। बिहान करिब ४:४५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले मोरङको वडा प्रहरी कार्यालय–९ (पुरानो जिल्ला प्रहरी कार्यालय) नजिक रहेको मुन्दडाको घरमा छापा मारेको हो। प्रहरीले घरका सबै कोठा, भान्छा, दराज तथा अन्य स्थानमा विस्तृत खोजतलास गरेको थियो।
प्रहरीले के कारणले खानतलासी गरेको हो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ र मोरङ प्रहरीले औपचारिक रूपमा खुलाएका छैनन्। मोरङ प्रहरीले भने गृह मन्त्रालयको निर्देशनअनुसार अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको छ।
मुन्दडा समूहले बाबा आयल, जुट उद्योग तथा जेजे ज्वेलर्ससहित विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ।खानतलासीका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालयतर्फ र गोल्छामोडतर्फ जाने सडक केही समयका लागि बन्द गर्दै सर्वसाधारणको आवतजावतसमेत रोकेको थियो।
प्रहरी टोली फर्किएपछि नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका केही राजनीतिक दलका नेताहरू पनि मुन्दडाको निवास पुगेका थिए।त्यसैगरी, उद्योगी बेनीगोपाल मुन्दडाले पनि पाँच घण्टाको खानतलासीपछि प्रहरीले घरबाट कुनै सामग्री बरामद नगरेको दाबी गरेका छन्। यद्यपि, प्रहरीले हालसम्म खानतलासीको उद्देश्य, अनुसन्धानको प्रकृति वा त्यसको निष्कर्षबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन।