काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका–१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया बिमला थापा, ललितपुर महानगरपालिका–९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रूपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रूपैयाँ, केशवले जर्जियालगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रूपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुन्नालाई काठमाडौं महानगरपालिका–१२ बाट शनिबार, भुमिकालाई ललितपुर महानगरपालिका–२६ बाट, बिमलालाई काठमाडौं महानगरपालिका–२६ बाट र केशव बहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।