काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका–१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं महानगरपालिका–७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये गणेश बहादुरले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, झगेले युरोप पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ, कमलले अजरबैजना पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र शारदाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका–६ बाट र झगेलाई काठमाडौं महानगरपालिका–२१ बाट सोमबार तथा कमललाई काठमाडौं महानगरपालिका–१६ बाट र शारदालाई काठमाडौं महानगरपालिका–७ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।