काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा नेत्रहीन महिला संघ नेपाल का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरू स्वयं उपस्थित रहेका थिए र उनीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा आचार्यले शिक्षा नै समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बताए । साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधिहरू तथा विद्याथहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अध्ययन सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले उनीहरूको अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कम्पनीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राखी विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।