काठमाडौं, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले यस अवधिमा १५ करोड चार लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको आठ करोड आठ लाख २० हजार रुपैयाँको तुलनामा ८६ दशमलव १८ प्रतिशतले बढी हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा एक सय ३२ दशमलव पाँच प्रतिशतले बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यद्यपि, खुद ब्याज आम्दानी भने शून्य दशमलव ४७ प्रतिशतले घटेर २३ करोड ३४ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकले १९ करोड ६९ लाख आठ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज राइटब्याक गरेको देखिएको छ । अघिल्लो वर्ष पनि चार करोड आठ लाख नौ हजार रुपैयाँ राइटब्याक भएको थियो ।
पछिल्लो समय बैंकको कुल निक्षेप रकम पनि ६६ दशमलव ४८ प्रतिशतले बढेर आठ अर्ब ८८ करोड ५२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । यसैगरी कर्जा रकम १० दशमलव ४१ प्रतिशतले बढेर पाँच अर्ब ५६ करोड २५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको बैंकको सञ्चित नोक्सानी ६२ करोड ४० लाख ९६ हजार रुपैयाँबाट घटेर ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ ।