सिरहा । सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् । भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीयका अनुसार बालकलाई समयमै थप उपचारका लागि अन्यत्र रिफर गर्न नसक्दा अवस्था गम्भीर बनेको थियो । एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि थप उपचारका लागि लैजान ढिलाइ भएको र बाटोमै बालकको मृत्यु भएको आफन्तको आरोप छ ।
घटनापछि आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् । उनीहरूले हुलाकी सडकमा टायर र दाउरा बालेर सडकसमेत अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको छ ।
स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नपुगेपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।
स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।