काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण सन्देश सार्वजनिक गरेका छन्। शुक्रबार संसदमा सांसदहरूले उनीसँग सम्बन्धित विषय उठाएपछि बालेनले फेसबुकमा लेखेको स्टाटसलाई अर्थपूर्ण संयोगका रूपमा हेरिएको छ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’उनले अगाडि भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
बालेनले आफ्नो स्टाटसमा कुनै विषय, व्यक्ति वा घटनाको प्रत्यक्ष उल्लेख भने गरेका छैनन्। तर, शुक्रबार संसदमा उनकै पार्टीका सांसदहरुले सरकारप्रति गंभिर भएर आलोचना गरेका थिए । उनको अभिव्यक्तिलाई त्यसैसँग जोडेर हेर्न थालिएको हो।विशेषगरी ‘सही समय आउनलाई केही समय लाग्छ’, ‘ढिला होला, तर गलत हुँदैन’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ।
यद्यपि, बालेनले आफ्नो स्टाटस कुन घटनाप्रति लक्षित गरेर लेखेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। त्यसैले उनको अभिव्यक्तिको वास्तविक आशयबारे विभिन्न अनुमान भइरहेका छन्।