काठमाडौं, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुुसार २०८३ को असार मसान्तसम्ममा संस्थाले ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २५ दशमलव ३६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ८७ करोड ५० लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि पछिल्लो अवधिमा २९ दशमलव शून्य आठ प्रतिशतले घटेर एक अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी पनि पछिल्लो अवधिमा २९ दशमलव ६४ प्रतिशतले घटेर एक अर्ब २७ करोड ५४ लाख ४९ हजार रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २७ दशमलव १३ प्रतिशतले घटेर ९३ करोड ७ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा संस्थाले तीन करोड २६ लाख ३६ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता (राइट ब्याक) गरेको देखिएको छ, जबकि अघिल्लो वर्ष सो शीर्षकमा १० करोड ४० लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार पछिल्लो अवधिमा संस्थाको वितरणयोग्य नाफा एक अर्ब ६४ करोड ८४ लाख ५४ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ८५ प्रतिशतले कम हो । यससँगै प्रति सेयर आम्दानी पनि २० रुपैयाँ २९ पैसाबाट घटेर १३ रुपैयाँ २६ पैसामा झरेको छ । वितरणयोग्य ईपीएस पनि ४२ रुपैयाँ ८८ पैसाबाट घटेर ३३ रुपैयाँ ४६ पैसामा सीमित भएको छ । कर्जा तथा सापटी भने पछिल्लो अवधिमा तीन दशमलव १८ प्रतिशतले बढेर ३५ अर्ब ३९ करोड २९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । निक्षेप तथा सापटी सात दशमलव १३ प्रतिशतले बढेर २६ अर्ब ३८ करोड १७ लाख ७५ हजार रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी पनि १४ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ पुगेको छ । सेयर प्रिमियम १८ करोड २६ लाख ९७ हजार रुपैयाँमा स्थिर रहेको छ भने रिजर्भ ४३ करोड ३२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।