विराटनगर, सुनसरी–मोरङ औद्योगिक करिडोरका केही फ्लोर मिलले मूल्य अभिवृद्धि कर (भ्याट) छली गरी मैदा, पिठो र सुजी बिक्री वितरण गरिरहेको पाइएको छ । कोशी ब्यारेज आसपासका बजारमा भ्याट बिलविनै मैदा र पिठोको कारोबार बढ्दै गएको पाइएको हो ।
उद्योगीका अनुसार फ्लोर मिलहरूले कच्चा पदार्थ गहुँ खरिद गर्दा उद्योगको नाममा नभई व्यक्तिगत नाममा खरिद गरेर प्रशोधन गर्ने गरेका छन् । गहुँमा भ्याट नलाग्ने व्यवस्थाको दुरुपयोग गर्दै केही उद्योगले व्यक्तिगत नाममा खरिद गरिएको गहुँ उद्योगमा प्रशोधन गरिरहेको स्रोतको दाबी छ । एक उद्योगीले भने, ‘पिठो, मैदा र सुजीमा भ्याट छली गर्नेले उद्योगका नाममा गहुँ खरिद गर्दैनन् । यस्तो गहुँ खरिद व्यक्तिका नाममा गर्ने गरिएको हुन्छ । किन कि उद्योगका नाममा गहुँ हुनेबित्तिकै राजस्व कार्यालयमा हिसाब देखिन्छ र भ्याट छली गर्न गाह्रो हुन्छ । त्यसैले यस्ता उद्योगी व्यक्तिका नाममा गहुँ खरिद गरेर राख्छन् र उद्योगमा त्यसको प्रशोधन गर्छन् ।
कतिपय उद्योगीले त व्यक्तिका नाममा खरिद गरेको गहुँ पनि कारखानाको गोदाममा राख्ने गर्छन् ।’ तर राजस्व कार्यालयले कहिल्यै पनि अनुगमन नगरको उनको भनाइ छ । ‘गहुँमा भ्याट लाग्दैन, त्यसैले भ्याटमा खेलोमेलो गर्ने उद्योगीलाई सजिलो छ’, उनले भने । उद्योगले आफ्ना नाममा खरिद नगरेको कच्चा पदार्थ पनि प्रशोधन गर्न पाइरहेको उनले बताए । भ्याट छली गर्ने फ्लोर मिल्सले कच्चा पदार्थ गहुँ महँगोमा खरिद गर्ने गरेका छन् । उद्योगले उक्त खरिदको घाटा पूर्ति भ्याट छलीबाट गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार भ्याट छली गर्ने उद्योगहरूले तुलनात्मक रूपमा महँगो मूल्यमा गहुँ खरिद गरे पनि भ्याट नतिरेर त्यसको लागत समायोजन गर्दै बजारमा सस्तो मूल्यमा नै मैदा, पिठो र सुजी बिक्री गरिरहेका छन् । यसले पूर्ण रूपमा भ्याट तिरेर कारोबार गर्ने उद्योगहरू प्रतिस्पर्धामा कमजोर बनेको उनीहरूको भनाइ छ ।
यस्तै, केही उद्योगले भारतबाट अवैध रूपमा मैदा र सुजी ल्याएर आफ्नै ब्रान्डमा प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन् । नेपालमा भन्दा भारतमा मैदा र सुजीको मूल्यमा किलोमै फरक छ । भ्याट छली गर्ने उद्योगले आफ्ना बिक्रेता, होलसेलर र सेमीहोलसेलर कहाँ एउटै बिलमा पटक पटकसम्म मैदा पठाउँदै गरेको स्रोतले बताएको छ । पचास लाख रुपैयाँसम्मको कारोबारमा भ्याट नलाग्ने र भ्याट बिल छली गर्ने फ्लोर मिलहरूले यही कानुनी छिद्र टेकेर ठूलो चलखेल गरिरहेका छन् ।
विशाल मैदा मिल्सका सञ्चालक विकास बेगवानीले उत्पादनमूलक उद्योगलाई वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबारमा लागू हुने भ्याट थ्रेसहोल्ड व्यवस्थाले बजारमा विकृति बढाएको बताए । उनका अनुसार यस्तो प्रावधानले साना–साना कारोबार देखाएर कर छली गर्ने प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भएकाले उत्पादनमूलक उद्योगका हकमा उक्त व्यवस्था पुनरावलोकन गर्न आवश्यक छ । बेगबानीले भने ‘उत्पादनमूलक उद्योगलाई पचास लाखको थ्रेसहोल्ड भन्ने कुरा पक्षपातपूर्ण छ । यसले ठूलो चलखेल बढाउँछ र बिलबिजकमा काम गर्ने ठूला उद्योगलाई प्रतिस्पर्धा गर्न गाह्रो बनाउँछ । त्यसैले मैदा, पिठो र सुजीका कुनै पनि उद्योगलाई थ्रेसहोल्डमा खेल्न दिनुहुँदैन, यो प्रावधान नै हटाउनुपर्छ ।’
मैदामा हुने खुलेयाम भ्याट छलीका सम्बन्धमा राजस्व अनुसन्धानका कर्मचारीसंग आर्थिक दैनिकले प्रश्न गर्दा एक अधिकारीले विद्युत् खपत र उत्पादन क्षमताको तुलनात्मक विश्लेषणका आधारमा उद्योगहरूको अडिट गर्ने हो भने सम्भावित भ्याट छली पहिचान गर्न सकिने बताए । उनका अनुसार उद्योगको विद्युत् खपत, उत्पादन र कर विवरणबीचको तुलना प्रभावकारी अनुगमनको आधार बन्न सक्छ । उनले भने, ‘उद्योगले बिजुलीको कति युनिट खर्च हुँदा कति उत्पादन गर्न सकछ भन्ने मापदण्ड बनाएर अडिट गर्ने हो भने भ्याट छलीबाट कोही उम्कन सक्दैनन् ।’