कर्णाली, सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक–दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भएपनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् । ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भएपनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ ।वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति गरेको सुनाए । ‘चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो ।
चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो । आज बल्लतल्ल ग्यास पाइयो । धेरै ठूलो युद्ध जिते जस्तो महसुस भएको छ । आजदेखि खाना पकाएर खान पाइने भइयो’, उनले भने । चौधरी प्रतिनिधि पात्र मात्र हुन्, उनी जस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्यो । यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तित्व र सहज पहुँच नभएका नागरिकहरू प्रभावित भएका छन् ।
पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको वीरेन्द्रनगर नगरपालिका–९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पोखे । उनले भने, ‘हामी आइतबार बिहान ५ बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अँझै पालो आएको छैन । बेलुका खाली सिलिण्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरी लाइनमा बस्न आउँछौँ । राति खाली सिलिन्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति २० रुपैयाँ तिर्ने गरेका छौँ । आज पनि ग्याँस पाउने हो कि होइन थाहा छैन ।’
यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्याँस वितरण गरिएको जानकारी दिए । उनले भने, ‘यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो । तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ । यो निकै ठूलो परिमाण हो । यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ ।’ प्रमुख घिमिरेले सुर्खेतमा एलपी ग्यासको अभाव नभए पनि अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट संकलन गरी भण्डारण गरेर राखेको हुनसक्ने दाबी गरे ।