काठमाडौं, नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजना सम्पन्न गरी एक हजार चार सय ११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको दाबी गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।
सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गरेको बताए । उनका अनुसार सेनाले पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथांका (च्याम्ताङ्ग–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ ।
हाल सेनाले मुख्यगरी कर्णाली करिडोर, दार्चुला–टिंकर र बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन सडकमार्ग निर्माण गरिरहेको छ । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिंकर (तुषारपानी–टिंकर) सडक आयोजना क्षेत्रमा ७९ किलोमिटर सडक निर्माणको कार्य हुँदै आएको छ । अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर तथा प्रतिकूल मौसमका बाबजुद १९.८० किलोमिटर सडक निर्माण गरी आर्थिक वर्ष २०८२/८३ को शतप्रतिशत कार्य सम्पन्न भएको सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत छ । यसैगरि बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाले मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभान सडक खण्ड (१८ किमी) निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । आव २०८२/८३ सम्म सो आयोजनाको ४०.८ किमी (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो । हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको छ सय ८२ किलोमिटर लामो सो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक सेनाले निर्माण गर्दै आएको छ । लालीबगर–दुल्लिकुन्ना खण्डको ट्रयाक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी छ । आव २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण गरी शतप्रतिशत कार्य सम्पन्न गरेको छ ।
हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत हासिल भएको छ । कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग हुम्लालाई जोड्नका लागि नेपाली सेनाले हिल्सा–सिमकोट सडकखण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत आसार २२ गते बेलिब्रिज जडान गरेको थियो । त्यसबाट कर्णालीको हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै राष्ट्रको आर्थिक तथा सामरिक महत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ ।
संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकता र दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने आयोजनामा नयाँ ट्रयाक निर्माण, ट्र्याक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ । ती आयोजनाको मूल उद्देश्य दुर्गम तथा रणनीतिक महत्वका सडकखण्ड निर्माण गरी राष्ट्रिय सडक सञ्जाल विस्तार गर्नु तथा सामाजिक, आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो । उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै कठिन र चुनौतीपूर्ण भूभागमा समेत विकास निर्माणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी राष्ट्रले सुम्पेको अभिभारा निर्वाह गर्दै आएको सेनाले जनाएको छ ।
विशेषगरी सामरिक महत्वका सडकले हिमाली, पहाडी र तराई क्षेत्रलाई जोड्नुका साथै पहुँच विस्तार गरी व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने आधार तयार गर्ने सेनाको विश्वास छ । नेपालको दिगो आर्थिक विकास, पहुँच विस्तार तथा राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने आधारभूत पूर्वाधारमध्ये सडक सञ्जालको विशेष महत्व रहेको छ ।