काठमाडौं । कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन् ।गहन भावना, व्यक्तिगत अनुभव र मौलिक सोचलाई प्रभावशाली कवितामार्फत प्रस्तुत गर्दै प्रिस्का पहिलो ‘जुनियर द पोएट आइडल’ बन्न सफल भएकी हुन् ।
अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि आफ्नो नाममा लेखाएकी हुन् । प्रतियोगिताका विभिन्न चरणमा उनको शब्द चयन, कविता प्रस्तुति र वाचन शैलीले निर्णायकसँगै दर्शकको समेत ध्यान खिचेको थियो ।
प्रतिस्पर्धाभरि कविताप्रतिको निरन्तर समर्पण, मेहनत र सशक्त मञ्च प्रस्तुतिले प्रिस्कालाई अन्य प्रतिस्पर्धीभन्दा अब्बल सावित गर्न मद्दत गरेको आयोजकले जनाएको छ ।सानै उमेरमा कवितामार्फत आफ्ना भावना र विचारलाई प्रभावशाली ढंगले प्रस्तुत गर्दै आएकी प्रिस्काको यो जितले उनको साहित्यिक यात्रामा महत्वपूर्ण उपलब्धि थपिएको छ । अन्तिम चरणसम्म उत्कृष्ट प्रस्तुति दिँदै आएकी प्रिस्काले निर्णायक तथा दर्शकको मन जित्दै ‘जुनियर द पोएट आइडल’को पहिलो संस्करणको विजेताका रूपमा इतिहास रचेकी हुन् ।