दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । उक्त आयोजनाबाट ६५ हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
फस्कु–प्रिसिजन जेभी, काठमाडौंले निर्माण गरिरहेको आयोजनाअन्तर्गत हेडवक्र्स, क्यानल निर्माण, पाइप जडान तथा भस्मेखोलामा मुहान निर्माणको काम भइरहेको छ । आयोजना सम्पन्न भएपछि अर्चले, निम्कोट र लप्सेवेशी क्षेत्रका दुई सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजना वैतेश्वर– ४ र ५ मा निर्माण भए पनि यसको प्रत्यक्ष लाभ वैतेश्वर–३ का दुई सय भन्दा बढी किसानले लिनेछन । निर्माण कम्पनीका प्रतिनिधि पुरुषोत्तम बुढाथोकीका अनुसार आयोजनाको काम जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल पाइप जडानको काम भइरहेको र करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए । १ करोड ९४ लाख दुई हजार आठ सय रुपैयाँ लागतमा एसियाली विकास बैंकको सहयोगमा सिँचाइ योजना निर्माण भइरहेको छ ।
यसअघि स्थानीय किसानहरू अस्थायी कुलोको भरमा सिँचाइ गर्न बाध्य थिए । धान रोपाइँ तथा गहुँ बाली लगाउने समयमा उपभोक्ताले आफैं कुलो मर्मत गरेर पानी खेतसम्म ल्याउनुपर्ने अवस्था थियो । पानीको पालो कुर्न रातभर खेतमा बस्नुपर्ने बाध्यतासमेत रहेको स्थानीय पदम बस्नेतले बताए । अब पक्की सिँचाइ सुविधा पुगेपछि रातभर पानी कुर्नुपर्ने र कुलो मर्मतमा समय खर्चिनुपर्ने समस्याको अन्त्य हुने उनको भनाइ छ । स्थानीयका अनुसार लप्से क्षेत्रमा धान गहुँसँगै मौसमी तथा बेमौसमी तरकारी र मकै खेती हुने गरेको छ भने निम्कोट क्षेत्रमा मुख्य रूपमा धान र गहुँ खेती गरिन्छ । सिँचाइको सहज पहुँचसँगै खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।