काठमाडौँं । सञ्चालनमा रहेका जीवन तथा निर्जीवनसहितका २८ वटा बीमा कम्पनीले दुई खर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल दुई खर्ब एक अर्ब ३६ करोड १८ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव २७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले एक खर्ब ७६ अर्ब २१ करोड ५३ लाख ११ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले मात्र चालू आवको वैशाख मसान्तसम्ममा एक खर्ब ५९ अर्ब ९६ करोड ५८ लाख ६१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ९८ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब नौ अर्ब ४४ करोड ८० लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले पनि चालू आवको वैशाख मसान्तसम्ममा कुल ४१ अर्ब ३९ करोड ५९ लाख ६२ हजार रुपैयाँ कुल निर्जीवन बीमाशुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १५ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालू आवको वैशाख मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मक रूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा चालू आवको वैशाख मसान्तसम्ममा एक करोड ६५ लाख २५ हजार नौ सय ४९ वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा सात दशमलव ९६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा कुल एक करोड ५३ लाख छ हजार नौ सय ९३ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो । प्राधिकरणका अनुसार चालू आवको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ६६ लाख ७२ हजार सात सय ७८ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १८ दशमलव १५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या ५६ लाख ४७ हजार नौ सय नौ रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने चालू आवको वैशाख मसान्तसम्ममा २८ लाख ३० हजार छ सय ५२ वटा पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा छ दशमलव १४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या २६ लाख ६६ हजार आठ सय ७७ रहेको थियो ।
प्राधिकरणका अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या भने ५० दशमलव ६६ प्रतिशत पुगेको छ । ‘यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो’, प्राधिकरणले भनेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा तीन दशमलव २७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४७ दशमलव ३९ प्रतिशत रहेको थियो ।