काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पुँजी सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
प्राधिकरणका अनुसार जोखिममा आधारित पुँजीसम्बन्धी मार्गचित्र सहित कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यास र बीमालेखको विकासका चरण तथा स्वीकृति प्रक्रियालगायतका विषयमा बीमाङ्की विज्ञानका विद्यार्थीहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन एवम् अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै बीमाङ्की विज्ञानको अध्ययनको गुणस्तर अभिवृद्धिका लागि नीतिगत व्यवस्था र स्रोत परिचालनमा समेत समन्वय गर्न प्राधिकरण तयार रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले स्वदेशमा बीमाङ्कीहरूको माग बढ्दै गएको र प्रत्येक बीमा कम्पनीले बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक नियुक्त गर्नुपर्ने व्यवस्थासमेत गरिएकाले बीमाङ्की विज्ञानका विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो अवसर रहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदुढीकरणमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषकहरूको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पुँजीसम्बन्धी मार्गचित्र, कार्यान्वयनको समयसीमा, प्रभावकारिता तथा बीमाङ्कीको भूमिका र सहायक निर्देशक सुधा काफ्लेले बीमालेखको विकासका चरण तथा नियामकीय प्रक्रियासम्बन्धी प्रस्तुती दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रमा बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा जोखिममा आधारित पुँजीको भूमिका र कार्यान्वयन अवस्था, बीमालेखको विकासमा बीमाङ्कीको योगदान र रोजगारीका अवसरलगायतका विषयमा जिज्ञासा राखे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल तथा कार्यक्रम संयोजक केशव राज फुलारा र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।