काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बरारबको बजेट सार्वजनिक गरेको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेकी हुन् । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले जानकारी दिइन् । उनका अनुसार प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च गरिनेछ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका लागि छुट्याइएको छ । नेपाल सरकार तथा प्रदेश सरकारवाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको र जनसहभागिताबापत १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।
कुल बजेटको सबैभन्दा ठूलो हिस्सा ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको उनले बताइन् । आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्व ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ छुट्याइएको छ ।
महानगरले आगामी वर्ष युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगर अस्पताल निर्माणका लागि पहिलो वर्ष ४ करोड रुपैयाँ, सामूहिक आवास निर्माणका लागि ५ करोड रुपैयाँ तथा महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ । ज्येष्ठ नागरिक निमोनिया खोप कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा तर्फ १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड, हरियाली प्रबर्धन गर्न ४३ करोड, सूचना प्रविधितर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।
बजेटमा करदातालाई प्रोत्साहन गर्ने व्यवस्था पनि गरिएको छ । असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने तथा बक्यौता कर चुक्ता गर्नेहरूलाई जरिवाना मिनाहा गर्ने घोषणा गरिएको छ । आवासीय प्रयोजनका लागि घरबहाल करसमेत १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ । महानगरले आगामी वर्ष वातावरण व्यवस्थापनमा १ अर्ब २२ करोड रुपैयाँ, शिक्षामा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणमा २ अर्ब ५३ करोड रुपैयाँ, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड रुपैयाँ, स्वास्थ्य सेवामा ७० करोड रुपैयाँ तथा विपद् व्यवस्थापनमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा, निःशुल्क एम्बुलेन्स सेवा, रात्रिकालीन सार्वजनिक यातायात, सार्वजनिक शौचालय विस्तार, प्लास्टिक झोलामुक्त काठमाडौं अभियान तथा नदी किनार संरक्षण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये जेठ मसान्तसम्म ११ अर्ब २९ करोड रुपैयाँ मात्र खर्च भएको महानगरले जनाएको छ, जुन कुल बजेटको ४५ प्रतिशत हो । त्यस्तै, राजस्व संकलनतर्फ लक्ष्यको ६४.१७ प्रतिशत प्रगति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् । प्रस्तावित बजेटले काठमाडौँलाई स्वच्छ, हरियाली, सुरक्षित, सांस्कृतिक र जीवन्त सहरका रूपमा विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ ।