काठमाडौं । पोखरा महानगरपालिकाले सात अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १९औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन् ।
महानगरले आगामी वर्ष सङ्घीय सरकार ससर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख र सङ्घीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार अनुमान गरिएको छ । यस्तै राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ हुने अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।
महागनरले राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि १० करोड बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि ५५ करोड ५० लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि पाँच करोड, शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड २० लाख र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख विनियोजन गरिएको छ । महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड र प्रभावित क्षेत्रका लागि थप पाँच करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि १५ करोड २५ लाख विनियोजन गरिएको छ ।
यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि तीन करोड विनियोजन गरेको छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीन करोड ६८ लाख र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि एक करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै पर्यटन प्रवद्र्धनका लागि ६० लाख, तथा खेल पर्यटनका लागि ६६ लाख विनियोजन गरिएको छ ।
महानगरले चालू वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च गरेको छ । चालूतर्फ तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ चार अर्ब ८३ करोड ७९ लाख ११ हजार अनुमान गरिएकामा चालुतर्फ दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार र पुँजीगततर्फ एक अर्ब १७ करोड आठ लाख ६० हजारमात्र खर्च भएको हो । महानगरले चालु वर्षमा आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको थियो ।