काठमाडौं । ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बुधवार बसेको नवौँ नगरसभाको तेस्रो बैठकमा चालू खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ चार अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ र बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै आन्तरिक आयबाट तीन अर्ब ३५ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । अन्तर सरकारी अख्तियारीबाट एक अर्ब छ करोड २० लाख प्राप्त हुने र अपुग हुने एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् । महानगरले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वर्द्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्द्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवर्द्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह र प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता राखेको छ ।
महानगरले चालू आर्थिक वर्षको लागी सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेको थियो । जेठ मसान्तसम्म तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजारअर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् ।