काठमाडौं । काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौँ च्याम्पियन बनेको हो । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँले पोखरा महानगरपालिकालाई १२२ रनमै अलआउट ग¥यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँले लक्ष्य केवल १२ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम गरेको हो । उपाधी रक्षाको लागि काठमाडौँका ओपनर रित गौतमले बिस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाए भने उनलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिए ।
खेलको समापन समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए । विजेता टोली काठमाडौँलाई नगद ११ लाख रुपियाँसहित ट्रफी र उपविजेता टोली पोखरालाई नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै प्लेयर अफ द फाइनल काठमाडौँका रित गौतम भए ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पवन सर्राफ उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर रित गौत्तमलाई जनही नगद २१ हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो । यस्तै अर्जुन कुमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा नगद ५१ हजार रुपियाँसहित पुरस्कृत गरियो । कार्यक्रममा क्रिकेट खेलको विकास, प्रवर्द्धन र सुदृढीकरणमा योगदान गरेका उपेन्द्र भट्टराई र विजयकुमार शर्मालाई जनही ५१ हजार रुपियाँसहित सम्मानित गरिएको थियो ।
प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हो । यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।