बजारमा व्यापक अनुगमन र कैफियत भेटिए दण्डको व्यवस्थालाई कठोर बनाउने काममा सरकार चुक्दा बजारको व्यवस्थापन फितलो बन्दै गएको देखिन्छ । अघिल्लोहप्ता गृहमन्त्रीले खाजाका रूपमा खाएका आम्लेटमा माछाका काडा भेटिएपछि त्यो होटललाई तीनलाख रूपैयाँ जरिवाना तिराएर छाडियो । यद्यपि माछा पनि अखाद्य वस्तु चाहिँ होइन तर एउटा खाद्यपदार्थमा अर्को खाद्यपदार्थका अवशेष भेटिनु पनि गम्भीर नै हो । तर यो ठाउँमा गृहमन्त्री थिएनन् भने यति दण्ड पनि हुने थिएन । त्यसै पनि नेपाली बजार कुनै पनि मापदण्डमा चलेको छैन र यदाकदा हुने अनुगमनमा गम्भीर प्रकारका मानिने कैफियतहरू फेला पर्दा पनि सामान्य नसिहत वा दण्ड भराएर मुक्त गरिने कुरा त परम्परा जस्तै बनेको अवस्था छ । बजारमा खुला रूपले सरकार आफैँले तोकेको मापदण्ड विपरीत हुनेगरी विषाक्त वस्तु खुला रूपले बेचबिखन भइरहेका छन् । तरकारी फलफूल मात्र होइन दूध, पानी जस्ता वस्तुको पनि अनुगमन र दण्डको उचित व्यवस्था गरेको पाइँदैन । पछिल्लोसमय त औषधि जस्ता वस्तु पनि नक्कली फेला परे । औषधिजस्ता वस्तु नक्कली हुनु भनेको पनि विष बराबरै हो । यस्ता वस्तुको कारोबार नै पनि बजारमा अनुगमन नभएका उदाहरण हुनुपर्छ ।
गएको हप्ता दम तथा दीर्घकालीन श्वासप्रश्वास अवरोध रोगका बिरामीले प्रयोग गर्ने औषधि सेरोफ्लो रोटाक्याप्ससँग मिल्दोजुल्दो हुनेगरी उत्पादन गरिएका नक्कली औषधि नेपालका विभिन्न स्थानमा बिक्री–वितरण भइरहेको पाइयो । औषधि जस्तो वस्तुमा पनि नक्कलीको प्रवेश हुनु भनेको सम्बन्धित व्यवसायीले राज्यलाई हेपेको अवस्था हो । यदि राज्यले बजार अनुगमन कडा गरेको भए र खासगरी संवेदनशील विषयमा दण्डको मात्रा कठोर बनाइएको भए मान्छेको ज्यानै लिने गरी यस्तो काम गर्न हतपत कसैले आँट गर्ने थिएनन् होला । यद्यपि पछिल्लो समय औषधि व्यवस्था विभागले भने नक्कली औषधिका बारे अनुसन्धान थालेको जनाएको छ । विभागले गएको हप्ता राजधानीको प्रमुख औषधि व्यापारिक केन्द्र क्षेत्रपाटी क्षेत्रमा अनुगमन तथा छापा मार्दा नक्कली औषधिको आपूर्ति भइरहेको खुलेको बताइएको छ । स्रोतबारे जानकारी संकलन गरेको थियो । यो अनुसन्धानमा नक्कली भनिएका यी औषधी कहाँबाट बेचबिखन भइरहेको छ भन्ने पनि खुल्यो । यसको अर्थ हो अरु सामानय औषधि जस्तै नक्कली भनिएका यी औषधि पनि औपचारिक रूपले अर्थात् खुला रूपले नै बजारमा पठाइरहिएको छ । आखिरमा यसका मार खेप्ने भनेको सर्वसाधारण नै हुन् । उनमा कुन नक्कली र कुन सक्कली भन्ने पहिचान गर्ने आधार हुँदैन । विभागद्वारा जारी सूचनाअनुसार ५एसए२१५० र ५एसए७५९ ब्याच नम्बरका, उत्पादन मिति अप्रिल २०२५ र म्याद समाप्ति मार्च २०२७ उल्लेख गरिएका ‘सेरोफ्लो रोटाक्याप्स’का नक्कली संस्करण बजारमा फेला परेका भनेर जनाएपछि मात्र उपभोक्ताले पहिचान गर्ने अवसर पाएका हुनुपर्छ ।
यद्यपि मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधिको नक्कली कारोबारका सन्दर्भमा अहिले फेला परेकाहरूसंग सोधपुछ र अन्यत्र अर्थात् राजधानी बाहि पनि विस्तार भएको हुनसक्ने आशंकामा छानबिन भइरहेको बताइएको छ । तर विगतमा पनि नक्कली नै नभए पनि म्याद गुज्रिएका र सरकारले कतिपय अवस्थामा प्रतिबन्ध लगाएका औषधिको कारोबार गरेका बेलाबेला फेला परेका हुन्थे तर यस्ता कैफियतयुक्त कारोबार गर्नेहरूमाथि कारबाही भने कस्तो भयो वा भइरहेको छ भन्ने नागरिकले पत्तो पाउने गरेका छैनन् । यसले बजारमा भेटिने यस्ता कैफियत भेटिँदा यस्ता घटना नदोहोरिने प्रकारको दण्ड नभएको बुझाइ आम तहमा बढ्दै गएको स्थिति खडा गरेको छ । यो नक्कली प्रकरणमा नियन्त्रणमा लिइएका व्यवसायीसँग सोधपुछ तथा बयान लिएको बताइएको भए पनि कतै यो घटना पनि सामसुम हुने हो कि भन्ने आशंका बढिरहेकै छ । अब यस्तो ज्यानमा खेलवाड गर्नेहरूमाथि सरकार कडा अर्थात् कठोभन्दा कठोर हुन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ताकि आइन्दा यस्तो नहोस् ।