काठमाडौँ, टेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ ।
उक्त तालमा पानीको सतह बढी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ । सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ । केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरे। रासस