काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतलाई तीव्र पारिएको बताएका छन्। बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष जानकारी लिएको बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको भन्दै राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार अहिले सरकारको पहिलो प्राथमिकता प्रत्येक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु हो।
प्रधानमन्त्री शाहका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना रहेका छन्।
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको जनाउँदै शाहले बिहीबार मात्रै ६९ वटा हवाई उडान सञ्चालन गरी ३५१ जनाको उद्धार गरिएको बताएका छन्। थप हेलिकप्टर तयारी अवस्थामा राखिएको र निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको उनले उल्लेख गरेका छन्। हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत राहत सामग्री १० ट्रक पठाइएको तथा थप खाद्य र गैरखाद्य सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइँदैछ।
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थासमेत उद्धार तथा राहतमा परिचालित भएका छन्। रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय पारिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको र आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको शाहले बताएका छन्।
त्यस्तै, प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक तथा धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ।
दूरसञ्चार सेवा पुनःस्थापनालाई समेत आपत्कालीन प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएको जनाउँदै प्रधानमन्त्री शाहले प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याएर सेवा पुनःस्थापनाको काम भइरहेको बताएका छन्। प्रभावित नागरिकका लागि नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कलको सुविधा उपलब्ध गराएको र एनसेलले समेत निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा दिएको उनले उल्लेख गरेका छन्।
सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई पनि उच्च प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण र स्थलगत मूल्यांकन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको पनि बताएका छन्। भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ (EU), विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय रेडक्रसलगायतका साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको बताएका छन्।
उनले उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै रहेको बताएका छन्। उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने उनको भनाइ छ।