काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहने भएको छ । दोस्रो त्रैमासिक अर्थात् चालू आवको पहिलो ६ महिनामा चार दशमलव १३ प्रतिशत रहेको वृद्धिदर तेस्रो त्रैमासिकमा तीन दशमलव ५१ प्रतिशतमा सीमित हुने भएको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भने ३.१५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धिले यसमा योगदान गरेको थियो । समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गिकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान छ ।
सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनको मूल्य अभिवृद्धिदर ऋणात्मक रहँदा बाँकी १६ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान गरिएको कार्यालयका उप प्रमुख ढुण्डीराज लामिछानेले बताए ।
यो समयमा कृषि उत्पादनमा अर्थात् धान उत्पादन नहुने, घरेलु उत्पादनमा आएको कमी र विभिन्न उद्योगमा कम काम हुने हुँदा वृद्धिदर ऋणात्मक रहने गरेको उनको भनाइ छ । यद्यपि आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गिकरणहरू मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ । जसमध्ये विद्युत् तथा ग्याँस सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४ दशमलव ८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गिकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप १० दशमलव २७ प्रतिशत, यातायात तथा भण्डारण सात दशमलव ८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार पाँच दशमलव २५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यसैगरी थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत पाँच दशमलव २५ प्रतिशत, सूचना तथा सञ्चार चार दशलमव ८७ प्रतिशत, खानी तथा उत्खनन चार दशमलव २५ प्रतिशत , पेशागत, वैज्ञानिक तथा प्राविधिक सेवा चार दशमलव १९ प्रतिशत र प्रशासनिक तथा सहयोगी सेवा तीन दशमलव ५९ प्रतिशत वृद्धि अनुमान गरिएको छ । यसैगरी निर्माण दुई दशमलव ७५ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्य दुई दशमलव १९ प्रतिशत, घरजग्गा कारोबार दुई दशमलव शून्य पाँच प्रतिशत, आवास तथा भोजन एक दशमलव ७२ प्रतिशत, अन्य सेवा एक दशमलव ६० प्रतिशत, कृषि वन तथा मत्सय एक दशमलव ५८ प्रतिशत, शिक्षा एक दशमलव २२ प्रतिशत र सबैभन्दा कम पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन शून्य दशमलव १८ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक प्रशासन तथा रक्षाको एक दशमलव ५९ प्रतिशत र औद्योगिक उत्पादनको शून्य दशमलव ५४ प्रतिशत ऋणात्मक वृद्धिदर रहने अनुमान प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुराउने कृषि क्षेत्रको वृद्धिदर कमी हुनुमा यो त्रैमासमा धानको उत्पादन नहुन कारण रहेको उप प्रमुख लामिछानेले बताए । ‘कृषि क्षेत्रमा सबैभन्दा बढी धानको योगदान रहेको हुन्छ यो त्रैमासमा धानको उत्पादन नहुने हुँदा समस्या कृषि क्षेत्रको योगदानमा कमी आएको छ,’ उनले भने । त्यही भएर तथ्यांक संकलन तथा अध्ययन गर्दा कुन समय अर्थात् महिना रहेको छ त्यसले प्रभाव पर्ने गर्छ ।
धान बालीको उत्पादनमा कमी आएको भए पनि पशुपन्छी, तरकारीबाली तथा फलफूल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर पाँच दशमलव २५ प्रतिशत भएको अनुमान गरिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ । सरकारले औद्योगिक विकासमा ध्यान दिन नसक्दा अन्य औद्योगिक वर्गिकरणहरूको वृद्धि सामान्य रहन पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
उप प्रमुख लामिछानेका अनुसार त्रैमासहरूमा मौसम, काम गर्ने प्रवृत्ति, संस्कृति परम्परालगायतका कारणले वृद्धिदरमा असर पर्ने गरेको देखिन्छ । यी कारणले गर्दा चारवटा त्रैमासहरूमा क्रमशः सकारात्मक नकारात्मक दुवै असर पर्ने देखिन्छ तर वर्षको अन्त्यको परिणामाले त्यसलाई निक्यौले गर्ने उनको भनाइ छ । कार्यालयले चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । उक्त आम्दानीमा अमेरिका, इजारयल र इरान युद्धको प्रभाव रहने गरी आकलन गरिएको हो तर हाल युद्ध समाप्ति भएको छ भने पेट्रोलियम पदार्थको समेत सहजता भएको छ । त्यसैले गर्दा उक्त अनुमानमा परिवर्तन आउन सक्ने कार्यालयले जनाएको छ ।
उक्त प्रतिव्यक्ति आम्दानी आर्थिक वर्ष २०८१/८२ को बराबर हो । आर्थिक वर्ष २०८१/८२ मा पनि प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय ३५ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको थियो । चालू आर्थिक वर्षको लागि अमेरिकी डलर एकको विनिमय दर औसत एक सय ४४ रुपैयाँ राख्दा प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय ३५ अमेरिकी डलर पुगेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलर एकको विनिमय दर एक सय ३६ रुपैयाँ रहेको थियो भने हाल एक सय ४४ हुँदा पनि प्रतिव्यक्ति आम्दानी भने एक हजार पाँच सय ३५ नै रहेको छ ।
यसैगरी यस आर्थिक वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर बढ्ने छ । चालू आर्थिक वर्षको लागि जीडीपीको आकार करिब चार खर्बले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको विवरण सार्वजनिक गरिएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्य तीन दशमलव ६८ प्रतिशत हुने अनुमान गरिएको छ । जेनजी आन्दोलन र युद्धका बीच पनि अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदर बढ्नु सकारात्मक भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले बताएका छन् । हाल भने अमेरिका, इजरायल र इरानबीचको युद्ध सकिएको छ भने फागुन २१ को निर्वाचनबाट बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सय दिनसमेत पूरा गरेको अवस्था छ । त्यसैले गर्दा स्थिर सरकार हुँदा अर्थतन्त्रसमेत सकारात्मक हुन सहज हुने जानकारहरू बताउछन् । हाल सरकारले कानुनीगत, नीतिगत तथा प्रशासनिक सुधारको काम गर्ने खोजेको देखिएको हुँदा त्यसको सकारात्मक असर अर्थतन्त्रमा पर्ने जानकारहरूको भनाइ छ ।