काठमाडौ । लिटिल एन्जल्स स्कुलले पहिलो संस्करणको आईवीबी किड्स कप २०२६ को उपाधि जितेको छ । रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिटिल एन्जल्स स्कुलले उपाधि जितेको हो ।
आईवीबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो । फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाइ स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए । समापन समारोहमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए भने काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाहले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरे ।