गुल्मी, प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित भएको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।
गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । थापाका अनुसार बाक्लो कुहिरो, खराब मौसम र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको हो ।
हवाई सेवा सञ्चालनमा आएपछि काठमाडौँबाट १३ जना यात्रु बोकेर मङ्गलबार विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ । मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नेपाल वायुसेवा निगमले नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु वृद्धवृद्धा तथा बिरामी बढी समस्यामा परेका थिए ।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि रु. १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० हवाईभाडा निर्धारण गरेको छ ।
निगमले उडान तालिका समयमा समेत आजदेखि परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ८ः१५ बजे र शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ ।
गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ । यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज भएको छ ।