काठमाडौँ, बलरहरूको शानदार प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हात पारेको छ ।मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो । ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए । यद्यपि, ओमान १२औँ ओभरमा ४१ रनमा ६ विकेट गुमाइसकेको थियो ।
त्यसपछि विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरे । ओडेरा २५ रन बनाएर आउट भए ।नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए ।
करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा शाह फेसललाई पनि छक्का प्रहार गरे ।अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २–२ तथा हस्नेन शाहले १ विकेट लिए । यो जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ । नेपालले अब आगामी शनिबार क्यानडासँग खेल्नेछ ।