काठमाडौं । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको स्कुल, अस्पताल, पम्प र पसल सबैमा भएको भ्रष्टाचार पारदर्शी रूपमा छानबिन नगरी भित्रभित्रै दबाउने प्रयास सुरु भएको छ । सशस्त्र प्रहरी बलले कल्याणकारी सेवा केन्द्रअन्तर्गत एपीएफ स्कुल, एपीएफ हस्पिटल, एपीएफ पेट्रोल पम्प र एपीएफ सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
एपीएफ स्कुलमा भएको भ्रष्टाचारमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । एपीएफ स्कुलकी प्रमुख लेखापाल इन्स्पेक्टर कल्पना गुरुङले ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि उनलाई हिरासतमा राखेर छानबिन भइरहेको छ । उक्त भ्रष्टाचारमा अख्तियारले लेखा शाखाका कर्मचारीका अलावा पूर्वएआईजी रामशरण पौडेल, डीआईजी दिग्विजय सुवेदी, एसपी रामजंग पाण्डेलगायतका अधिकारीसँग बयान लिइसकेको छ । सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्र प्रशासन विभागअन्तर्गत रहेको छ । आईजीपी नियुक्त हुनुअघि नारायण दत्त पौडेल प्रशासन विभागको प्रमुख रहेका थिए । कल्याणकारी सेवा केन्द्रको प्रमुखचाहिँ महेन्द्र हमाल रहेका छन् ।
एपीएफका स्कुल, अस्पताल, पम्प र पसलले मासिक रूपमा हिसाब किताब कल्याणकारी सेवा केन्द्रमा बुझाउने गर्दछन् र केन्द्रले उक्त विवरण पाउनेबित्तिकै प्रशासन प्रमुखलाई बुझाउने गर्दछन् । पौडेल आईजीपी नियुक्त भएपछि एआईजी वंशी दाहाल प्रशासन विभाग प्रमुख बनेका थिए । आईजीपी हुनेबेला पौडेल र दाहाल प्रतिस्पर्धी थिए । दाहाल आईजीपी हुने दौडमा पछि परेर प्रशासन विभाग प्रमुख भएपछि आफू मातहतको कल्याणकारी सेवा केन्द्रअन्तर्गतका स्कुल, अस्पताल, पम्प र पसलमा भएका अनियमितता केलाउने क्रममा एपीएफ स्कुलमा भएको ११ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारको घटना भेटेपछि अख्तियारलाई जिम्मा लगाइएको थियो भने एपीएफ अस्पतालमा महंगो मूल्यका औषधिहरू किनेको बिल लेखामा राख्ने तर फार्मेसीमा औषधि नै नल्याउने गरिएको एउटा बेनामे उजुरीबाट खुलेको थियो र त्यसमा थालिएको अनुसन्धान बीचमै त्यतिकै छाडिएको छ ।
एपीएफ पम्प र एपीएफ सुपथ मूल्य पसलमा पनि अनियमितता भएका गुनासाहरू नआएका होइनन् तर त्यसमा छानबिन गर्दा आफूहरू नै पर्ने डरले छानबिन नहुन नसकेको बताइएको छ । सबैभन्दा रोचक पक्ष के छ भने त्यहाँ भएका भ्रष्टाचारको सम्बन्ध आईजीपी पौडेलसँग रहेको छ भनी प्रशासन विभाग प्रमुख हुँदा भ्रष्टाचार भएकाले त्यसको पूर्ण रूपमा जिम्मेबार पनि उनी नै रहेका छन् । एपीएफका ती चार संस्थामा भएको भ्रष्टाचारमा आफैँविरुद्ध अख्तियारले मुद्दा हाल्न सक्ने भएकाले आईजीपी पौडेलले छानबिन अघि नबढाउन दबाब दिएको बताइएका छ र त्यही कारण हालका प्रशासन विभाग प्रमुख वंशी दाहाल पनि पछि हटेको बुझिएको छ ।