काठमाडौं, बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ संचालन गर्ने भएको छ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै कम्पनीले दुई चरणमा फेस्टको आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा नौदिने खाद्य उत्सव, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, खेलकुद तथा पारिवारिक मनोरञ्जनका गतिविधि समावेश गरिनेछन् । महोत्सवमा केवलकार, जिपलाइन र स्काई साइकलिङलगायत साहसिक गतिविधिका साथै बालबालिका तथा परिवारलाई लक्षित कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने कार्यक्रम संयोजक सुरज राईले जानकारी दिए । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यअनुरूप महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार महोत्सवले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय खानपान र साहसिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।
दशैं–तिहार अभियानअन्तर्गत कम्पनीले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्ने जनाएको छ । बन्दीपुरहिल तनहुँको बन्दीपुरमा अवस्थित पर्यटकीय गन्तव्य हो । यहाँ केवलकार, रेस्टुरेन्ट तथा विभिन्न मनोरञ्जनात्मक र साहसिक गतिविधिका सुविधा उपलब्ध छन् ।