काठमाडौ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले ‘स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन’ सञ्चालनमा ल्याएको छ । प्रयोगशाला परीक्षणको रिपोर्ट संकलनका लागि आउने हजारौँ बिरामीहरूलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रदान गर्ने उद्देश्यले स्वचालित मेसिन सञ्चालनमा ल्याइएको हो ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको सोमबारका प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूले संयुक्त रूपमा शुभारम्भ गरेका थिए । यो मेसिनको प्रयोगबाट सर्वसाधारणले विना कुनै प्राविधिक कठिनाइ आफ्नो रिपोर्ट आफैँ निकाल्न सक्ने प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताए । यसका लागि सेवाग्राहीले ल्याब परीक्षण गराउँदा प्राप्त भएको बिलको बारकोडलाई मेसिनको बायाँपट्टि बत्ती बलिरहेको सेन्सर भागमा देखाउनुपर्नेहुन्छ । बारकोड स्क्यान हुनासाथ मेसिनको प्रणालीले सोझै डाटा पहिचान गरी केही सेकेन्डभित्रै ल्याब रिपोर्ट प्रिन्ट गरेर बाहिर निकाल्ने उनले बताए ।
‘बिरामीहरुको दिनानुदिन बढ्दो चापका कारण यसअघि सेन्ट्रल ल्याब रिपोर्ट काउन्टरबाट रिपोर्ट लिनका लागि बिरामी तथा कुरुवाहरू घण्टौँसम्म लामोे लाइनमा बस्नुपर्ने बाध्यता रहेको थियो’, उनले भने, ‘अत्याधिक भीडका कारण कर्मचारीहरूलाई पनि रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ भइरहेको थियो । अब भने यो प्रविधि भित्रिएसँगै लामो लाइन बसी रिपोर्ट लिकाल्नु पर्दाको समयको ठूलो बचत हुनेछ ।’ साथै रिपोर्ट वितरण काउन्टरमा हुने भीडभाड, मानवीय त्रुटि हुने समस्याहरु समेत उल्लेख्य रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानले पछिल्लो समय बिरामीको चापलाई सम्बोधन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन निरन्तर प्रविधि र पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ । अस्पताललाई क्रमश पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत यो मेसिन जडान गरिएको प्रवक्ता प्राडा श्रेष्ठले जानकारी दिए ।