काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरूको घरजग्गा (रियल इस्टेट) क्षेत्रमा प्रवाह हुने कर्जा खुम्चिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले रियलइस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा दुई खर्ब ६९ अर्ब २१ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ६६ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा यस्तो कर्जा रकम दुई खर्ब ७१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंकहरूले मात्र चालू आवको साउन मसान्तसम्ममा रियल इस्टेट क्षेत्रमा दुई खर्ब १५ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १० अर्ब ८५ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो कर्जा रकम दुई खर्ब २६ अर्ब एक करोड ४० लाख रुपैयाँ थियो ।
तर विकास बैंकहरूको रियल इस्टेट कर्जा भने उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले रियलइस्टेट क्षेत्रमा कुल ४२ अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा सात अर्ब ७१ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको यस्तो कर्जा रकम ३४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ थियो ।
चालू आवको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूले पनि रियलइस्टेट क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको कुल रियलइस्टेट कर्जा १२ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुगेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३७ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले यस्तो क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार कुल रियलइस्टेट कर्जामा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूको रहे पनि यही समूहको कर्जा घटेका कारण समग्र रियलइस्टेट कर्जा गत आवको तुलनामा खुम्चिएको हो । विकास बैंक र फाइनान्स कम्पनीको रियलइस्टेट कर्जा बढे पनि वाणिज्य बैंकको कर्जामा आएको गिरावटले समग्र कर्जा घटेको हो । चालू आवको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा ५९ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५५ खर्ब ६३ अर्ब ५३ करोड रुपैयाँ थियो । यसअनुसार बैंकिङ क्षेत्रको समग्र कर्जा करिब तीन खर्ब ७३ अर्ब रुपैयाँले बढेको अवस्थामा रियलइस्टेट कर्जा भने घटेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार कुल कर्जाको तुलनामा रियलइस्टेट क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा चालू आवको साउन मसान्तसम्ममा चार दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात चार दशमलव ८९ प्रतिशत थियो ।