काठमाडौँ, सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट हटाएको छ।गृह मन्त्रालयले अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा दाहाललाई आजदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरेको हो।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी प्रावधान पटक–पटक उल्लङ्घन गरेको उल्लेख छ।सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा गृह मन्त्रालयले दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो।
सशस्त्र प्रहरी बल, नेपालबाट दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीको सिफारिस प्राप्त भएपछि मन्त्रालयले उनलाई निलम्बन गरी छानबिन अघि बढाएको थियो। छानबिनपछि मन्त्रालयले दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको हो।