कास्की,कास्कीको पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भीरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस आज बिहान सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा मृत्यु हुनेमा पोखरा–२८ माझठानाकी १३ वर्षीया ममता तिवारी, सोही ठाउँका १४ वर्षीय अशिम कँडेल, कक्षा १० मा अध्ययनरत १४ वर्षीया रुमिका नेपाली र माझठानाकै कक्षा १० मा अध्ययनरत सुवेच्छा तिवारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ।घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमा पोखरा–२८ सौर्यकी कक्षा १० मा अध्ययनरत १६ वर्षीया सृष्टि तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था भने गम्भीर रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।अन्य घाइतेमा मादी गाउँपालिका–१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री, पोखरा–२८ माझठानाकी १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अङ्कित पराजुली, मादी–१२ पहिरेकी १५ वर्षीया स्मृति खत्री, पोखरा–२८ माझठानाकी १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर रहेका छन्। उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
बस चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको कमान्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो।