काठमाडौं, सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स् बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउने तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंकले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा उपलब्ध हुने छुट तथा अन्य सुविधासम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स् बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र नवीनतम प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । यसअघि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स् फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यसैगरी, बैंकले नवयुवालाई लक्षित गरी ‘सिटिजन्स् जेन–जी सेभिङ्ग अकाउन्ट’ तथा ‘सिटिजन्स् डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ पनि सुरु गरेको छ ।
बैंकले आफ्ना ग्राहकलाई थप सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स् बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका दुई सय वटा शाखा, एक सय ६७ वटा एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ्ग इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार, ग्राहक सुविधामा वृद्धि तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप यस्ता सहकार्य र नवीनतम सेवाहरूलाई निरन्तरता दिँदै आएको छ ।