काठमाडौं, नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट तथा सुविधासहितको ‘ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि लागू हुने गरी न्यून प्रिमियम ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कसहित उक्त योजना ल्याएको हो ।
योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार यस कर्जाको ब्याजदर आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियमबाट सुरु हुनेछ भने कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ । यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले शून्य दशमलव २५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्नेछ । यसका अतिरिक्त, कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन् । त्यस्तै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना २०८३ साल कात्तिक १५ गतेदेखि २०८३ साल माघ १५ गतेसम्म गरी जम्मा ९० दिनका लागि लागू हुनेछ । नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते सोमबार आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर दुई सय ३१ वटा शाखा, दुई सय ५० वटा एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधारलाई प्राथमिकता दिँदै विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । छिटोछरितो, सहज र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने उद्देश्यसहित बैंकले युवा जनशक्तिको परिचालन तथा आधुनिक प्रविधिको उपयोगमा जोड दिँदै आएको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र प्रविधिको समुचित प्रयोगमार्फत बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बैंकको भनाइ छ ।
बैंकका अनुसार ९०औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको सर्वसुलभ आवास कर्जा योजनाले घर खरिद, निर्माण तथा मर्मतका लागि वित्तीय सहयोग खोजिरहेका ग्राहकलाई लक्षित गरेको छ । न्यून प्रिमियम ब्याजदर, लामो कर्जा अवधि, कम सेवा शुल्क तथा अतिरिक्त बैंकिङ सुविधाले आवास कर्जा लिन चाहने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा बैंकले गरेको छ ।