काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकको जुम्ला शाखामार्फत विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो । ग्रामीण क्षेत्रका विपन्न पृष्ठभूमिका विद्यार्थीलाई चिसो मौसममा विद्यालय आउन सहज बनाउने तथा उनीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ । यस पहलले ग्रामीण भेगका विद्यार्थीलाई चिसोबाट जोगिन सहयोग पुग्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुधारमा समेत सकारात्मक योगदान पु¥याउने बैंकले विश्वास लिएको छ । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले वित्तीय सेवासँगै प्रविधिमैत्री बैंकिङ र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक विशेष बचत खाता पनि सुरु गरेको छ । यसका अतिरिक्त, बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका दुई सयवटा शाखा, एक सय ६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले वित्तीय पहुँच विस्तार, नवीनतम बैंकिङ प्रविधिको विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।