काठमाडौं, भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखाको विकल्पमा बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश, नुवाकोट जिल्ला, विदुर नगरपालिका–२, बट्टारमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब सात किलोमिटरको दूरीमा बट्टार शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।
बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पनि स्थानीय ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बट्टार शाखा सञ्चालनमा ल्याइएको बताए । उनले नयाँ शाखामार्फत अझ उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे ।
साथै, प्रतिकूल परिस्थितिका बाबजुद धैर्य र लगनशीलताका साथ शाखा पुनः सञ्चालनको प्रक्रियामा योगदान पुर्याउने कर्मचारीहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे । भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाटस्थित बैंकको शाखा पूर्ण रूपमा बगाएको भए पनि त्यहाँ कार्यरत कर्मचारीहरू भने सुरक्षित रहन सफल भएका थिए ।
सुविधासम्पन्न बट्टार शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमा वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसमेत बैंकले राखेको छ । हाल बागमती प्रदेशमा बैंकका ५६ वटा शाखा सञ्चालनमा रहेका छन् ।