काठमाडौं, नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान हासिल गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ ‘डबल ए माइनस’बाट ‘डबल ए’मा स्तरोन्नति भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्यांकन गर्दै रेटिङ एक तह माथि पुर्याएको हो ।
इक्रा नेपालका अनुसार डबल ए रेटिङ प्राप्त संस्थाहरूले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा कायम गरेका हुन्छन् । यस्ता संस्थामा क्रेडिट जोखिम अत्यन्त न्यून रहने मूल्यांकन गरिन्छ ।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको थियो । उक्त रेटिङ थप एक तह माथि उक्लिएर डबल ए मा पुग्नु कम्पनीको निरन्तर वित्तीय सुदृढीकरण, संस्थागत सुशासन र व्यवस्थापकीय उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । इक्रा नेपालको पछिल्लो मूल्यांकनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब एक सय ४५ प्रतिशतबाट सुधार भई करिब एक सय ५४ प्रतिशत पुगेको छ । यो नियामक निकायले तोकेको न्यूनतम एक सय ३० प्रतिशतको सीमाभन्दा उल्लेख्य रूपमा माथि हो । कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ । यसबाट कम्पनीको लगानी पोर्टफोलियो थप विविधीकृत र सुदृढ बनेको छ ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ । उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष करिब दुई खर्ब ७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब दुई खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यी सूचकहरूले कम्पनीको व्यावसायिक विस्तार, वित्तीय क्षमता र बजारमा रहेको बलियो उपस्थितिलाई प्रतिविम्बित गर्छन् ।
सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले जुलाई २०२६ मध्यसम्म देशभर एक सय ९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । देशव्यापी शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति, दक्ष व्यवस्थापन टोली र बलियो बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा औँल्याएको छ ।
कम्पनीले वित्तीय सबलतासँगै जोखिम व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ । यसका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरिएको छ । साथै, आकस्मिक तथा विपद्जन्य जोखिमबाट उत्पन्न हुन सक्ने सम्भावित वित्तीय प्रभाव न्यूनीकरण गर्न कम्पनीसँग पर्याप्त क्याटास्ट्रोपिक कभर तथा करिब एक अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको छ । रेटिङ स्तरोन्नतिबारे प्रतिक्रिया दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन र सम्पूर्ण सरोकारवालाले देखाएको विश्वासको प्रतिफलका रूपमा लिएका छन् ।
उनले भने, ‘डबल ए माइनसबाट डबल ए मा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो । यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ ।’ प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको यस उपलब्धिमा योगदान पुर्याउने सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । साथै, आगामी दिनमा सोल्भेन्सी अवस्थालाई थप सुदृढ बनाउने, लगानी विविधीकरण र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने तथा सरोकारवालाको दीर्घकालीन हित र विश्वासलाई केन्द्रमा राखेर कम्पनीलाई अझ सबल, विश्वसनीय र दिगो संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल लाइफको यो रेटिङ स्तरोन्नति केवल वित्तीय सूचकमा भएको सुधार मात्र नभई कम्पनीको संस्थागत क्षमता, सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन व्यावसायिक प्रतिबद्धताको समेत महत्वपूर्ण उपलब्धि हो । यसले नेपाली जीवन बीमा क्षेत्रमा कम्पनीको अग्रणी पहिचानलाई थप मजबुत बनाएको छ ।