काठमाडौं, नेपाल टेलिकमले कानुनविपरीत कम्पनीले कुनै किसिमको खरिद प्रक्रियालाई अगाडि नबढाएको जनाएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो खरिद प्रक्रिया प्रचलित ऐन, कानुन, आर्थिक विनियमावली तथा सार्वजनिक खरिदसम्बन्धी मापदण्डअनुसार सञ्चालन हुँदै आएको स्पष्ट पारेको हो ।
नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापित तथा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त संस्था भएको उल्लेख गर्दै कम्पनीले आफ्नो संस्थागत प्रतिष्ठा, जनविश्वास र ग्राहकको भरोसामाथि आँच पुग्ने गरी अपुष्ट समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ । कम्पनीका अनुसार खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएका सम्बन्धित मापदण्डका आधारमा अघि बढाइने गरिएको छ । लामो ऐतिहासिक पृष्ठभूमि बोकेको कम्पनीले कानुनी शासन, सुशासन र संस्थागत पारदर्शिताका मूल्य तथा मान्यतामा सम्झौता नगरेको टेलिकमको दाबी छ ।
टेलिकमले नयाँ प्रविधिको अवलम्बन, गुणस्तरीय दूरसञ्चार सेवा विस्तार, सरकारी नीतिगत लक्ष्यको कार्यान्वयन र व्यावसायिक हितलाई ध्यानमा राखेर विभिन्न खरिद तथा विकासका कार्य अघि बढाउँदै आएको जनाएको छ । त्यस्तै, खरिद प्रक्रियालगायत कम्पनीसँग सम्बन्धित विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक विवरण लिन प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखासँग सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ ।