बैतडी, डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गम्भीर घाइते मङ्गोलाको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । 
जिप चालकसहित दुर्घटनामा छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।