काठमाडौं, फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा एक करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।
मेलाको अन्तिम दिन बुधबार मात्रै २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जानकारी दिएको छ । अन्तिम दिन मेलाको छ हजार पाँच सय ८१ जनाले अवलोकन गरेका थिए । मेला अवधिमा मौसममा प्रतिकूलता आएपनि कारोबार र अबलोकनकर्ताको उपस्थिति सोचेअनुरुप नै भएको मेला संयोजक सुमन महर्जनले बताए । उनका अनुसार प्रदर्शनीको पहिलो दिन आठ हजार नौ सय, दोस्रो दिन चार हजार दुई सय, तेस्रो दिन १० हजार सात सय, चौथो दिन सात हजार दुई सय ५० र पाँचौँ दिन छ हजार सात सय ५६ जनाले मेला अवलोकन गरेका थिए ।
मेलाको पाँचौँ दिन २१ लाख ५० हजारको कारोबार भएको थियो । मेलाको समापनको दिन मेलामा सहभागी पुष्प व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आउँदै गरेको शुभदीपावलीको पावन अवसरमा फ्यानका सदस्य पुष्प व्यवसायीहरुबीच सांस्कृतिक कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । विभिन्न लोक कलाकारहरुले मेला स्थलमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।