काठमाडौं, वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नेपाली काँग्रेसका नेता भरत चौलागाईं र काँग्रेसनिकट नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गर्दै इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गरेका थिए । नेपाल र इजरायल सरकारबीच भएको ‘जीटुजी’ सम्झौताअनुसार केयर गिभरका लागि छनोटमा पर्न नसकेका व्यक्तिलाई समेत इजरायल पठाइदिने भन्दै उनीहरूले रकम लिएको सीआईबीको दाबी छ ।
सीआईबीका अनुसार इजरायल जानका लागि भएको ‘लक्की ड्र’मा छनोट हुन नसकेका १५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो । यसरी उनीहरूले करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।