विराटनगर, विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।
असोज २२ गतेदेखि सुरु भएको फेयरमा स्थानियसंगै छिमेकी देश भारतका नागरिकले समेत सहभागिता जनाएका छन् । मंगलबारसम्म करिब एक लाखभन्दा बढीले मेलाको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । फेयरमा दर्शकको सहभागिता र कारोबारको अवस्था आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको संघका अध्यक्ष प्रमोद (जिन्दल) अग्रवालले बताए । फेयरले विराटनगरको बजारलाई चलायमान बनाउनुका साथै दसैँको समयमा किनमेल र मनोरञ्जनका लागि राम्रो अवसर प्रदान गरेको उनले बताए । ‘विराटनगरले पछिल्लो पाँच वर्षयता पहिलोपटक यस्तो गुलजार बजार देखेको होला । फेयरमा युवा पुस्ताको उल्लेख्य सहभागिता छ । दशैँको मौसममा मेला कस्तो हुनुपर्छ भन्ने अनुभव गर्दै दर्शकले किनमेल र मनोरञ्जनको आनन्द लिइरहेका छन्,’ अध्यक्ष अग्रवाल भने ।
विराट ट्रेयर फेयरमा उपभोक्ताका दैनिक आवश्यकताका सामग्रीको बिक्री बढी भइरहेको छ । फेयरका स्टलहरूमा दर्शकको चहलपहल बढेको र कारोबारसमेत उत्साहजनक रहेको अध्यक्ष अग्रवालले बताए । फेयरमा कुल १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये एकसय वटा व्यावसायिक प्रयोजनका स्टल रहेको फेयर संयोजक श्याम पौडेल (भवेश)ले जानकारी दिए । अन्य स्टलमा खाद्य कम्पनी, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय र घरेलु उद्योगलगायतको सहभागिता रहेको छ । फेयरमा राखिएका विभिन्न सामग्रीका स्टलसँगै दैनिक आयोजना हुने सांगीतिक प्रस्तुतिले पनि दर्शकलाई आकर्षित गरिरहेको संयोजक पौडेलले जानकारी दिए ।
सांगीतिक कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहने गरेको छ । विराट व्यापार संघले १५ वर्षपछि व्यापार मेला आयोजना गरेको हो । फेयर यही असोज ३० गतेसम्म सञ्चालन हुनेछ । फेयरले स्थानीय व्यापार प्रवर्द्धन गर्नुका साथै विराटनगरको बजारमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।