काठमाडौं, नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र बृहत्प्रेनर्सले सहकार्य थालेका छन् ।
स्टार्ट–अपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’मा चेम्बर र वृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो । यसले नयाँ व्यवसाय स्थापना गर्ने मात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ ।
बृहत्प्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरको सीमामा नराखी ‘अर्बान लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अघि बढाउने जनाएको छ । कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ । पहिलो चरणमा ‘एक्जिक्युसन हब’मार्फत व्यावसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ । त्यस्तै ‘एक्सपट्र्स क्लिनिक’मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराउने योजना छ ।
उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न ‘अपर्चुनिटी एक्सेस सिस्टम’ विकास गरिनेछ । कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने पनि कार्यक्रमको उद्देश्य छ । त्यसैगरी स्थानीय बजारमा सीमित व्यवसायलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक व्यावसायिक संरचना निर्माणमा सहयोग गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन् । नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई छ । बृहत्प्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम कम गर्न सक्ने बताइन् ।
बृहत्प्रेनर्सका कार्यक्रम व्यवस्थापक सुदर्शन शिवाकोटीले कार्यक्रमको कार्यान्वयनका लागि विभिन्न चरणका योजना अघि सारिएको जानकारी दिए । कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ ।