काठमाडौं, जीवन विज्ञान यूथको आयोजनामा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल भावका साथ ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा दुई हजारभन्दा बढीको सहभागिता रहेको थियो । दशरथ रंगशालाबाट सुरु भएको दौडमा १० वर्षदेखि ७० वर्षसम्मका सहभागी सहभागी भएका थिए । २० देखि ३० वर्ष उमेर समूहका सहभागीको संख्या उल्लेख्य रहेको थियो । संविधान दिवसको अवसर पारेर आरोग्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रसुवा बाढीपीडित क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो ।
१० किलोमिटर दौड दशरथ रंगशालाबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै पुनः तीनकुने, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर सम्पन्न भएको थियो । त्यस्तै, ५ किलोमिटर दौड दशरथ रंगशालाबाट थापाथली, माइतीघर मण्डला हुँदै बिजुलीबजारको आर्क ब्रिजसम्म पुगेर माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामै पुगेर सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटनका क्रममा रमेश नेपालले सहभागीहरूलाई ध्यान गराएका थिए ।
दौडमा ५ किलोमिटरको पुरुषतर्फ रविन्द्र राउत प्रथम, सुकदेव कुलुङ द्वितीय, निश्चल राई तृतीय भएका छन् भने ५ किलोमिटरको महिलातर्फ जेनिशा राई प्रथम, सुजिना बम, द्वितीय तथा योनिका राउत तृतीय भए । त्यस्तै १० किलोमिटरको पुरुषतर्फ दीपक बुढाथोकी प्रथम, रिंकु सिंजाली द्वितीय र सार्थक के.सी. तृतीय भए भने महिलातर्फ शारदा राई प्रथम, प्रिया शाह द्वितीय र स्मृति ढकाल तृतीय भए । विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।