काठमाडौं, संविधान दिवसको अवसर पारेर काठमाडौं शिक्षालय ललितपुरले भव्य साइकल र्याली आयोजना गरेको छ । रसुवा बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त र्याली गरिएको हो ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो । इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो ।
र्यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए । विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले र्यालीको दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । विद्यालयले यसअघि नै भोटेकोशी बाढीप्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।